रचना कार्की
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु ।
अदृश्य यो कस्तो शक्ति, सकिन्न खै देख्न
शक्तिशाली ती देशहरू पनि, थाले घुँडा टेक्न
देश चलाउने भन्नेहरू, कुर्सी तानातानमा
बिजोग छ जनतामा, मृत्यु छ अकालमा ।
धनीलाई छ अस्पताल, गरिबलाई छ पीडा
कसले पो नै बुझ्छ र खै, विभेदको यो लीला
भगवान् जस्तै डाक्टर-नर्सको, मुख नै हेर्न नपाई
मरेका छन् कत्ति मान्छे, उपचारबिना कठ्ठै !
मेला, उत्सव, पर्व, चाडले, छर्थे छुट्टै उमंग
मानिसको भिड देख्दै हुन्थ्यो मन फुरूङ्ग
सधैं हिँड्ने बाटोसमेत, भयो झन् झन् पराई
थुनिएर बस्नुपर्दा, अत्यास लाग्छ डराई ।
जागिर, व्यापार, स्कुल, कलेज, सबै भए बन्द
मोबाइल, टिभि, ल्यापटप मात्रै, बाँकी अन्धाधुन्ध
श्रद्धाञ्जली लेखिएका, तस्बिरहरु देख्दाखेरी
मुटुभित्रै गाँठो पर्छ, आँसु आँखाभरी ।
सुरक्षाकर्मी, पत्रकार र डाक्टर-नर्सको टोली
२४ सै घन्टा खटेका छन्, आफ्नो घरवार छोडी
हामी पनि जे जे सक्छौँ, त्यसमा जुट्न थालौँ
कोरोनामुक्त विश्व बनाउने अभियानमा लागौँ ।