r

आमाको माया र बाबाको त्याग

प्रियांशु पुडासैनी
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु, काठमाडौं ।

सयौँ पीडा लुकाएर हाँस्नेलाई आमा भनिन्छ
कयौँ दुख सहेर बाँच्नेलाई बाबा भनिन्छ ।
लाग्न दिनुभएन कहिल्यै सानो चोट आमाले
पूरा गरिदिनुभयो हरेक इच्छा चाहना बाबाले ।

राख्नुभयो आमाले आफ्नो आँखामा सजाएर
सन्तानको पेट भर्नुभयो बाबा आफू
भोकै बसेर
हरपल साथ दिनुभयो आमाले सबै कुरा बुझेर
हिँडाउनुभयो बाबाले असल बाटो रोजेर ।

न त कुट्नुभो आमाले न त गर्नुभो कहिल्यै गाली
सन्तान कसरी सुखी हुन्छन् सोच्नुहुन्छ बाबा खाली
संसारमा आमाले झैं गर्दैन माया कसैले साँचो
हुन दिनुभएन बाबाले मलाई केही कुराको खाँचो ।

घामपानीबाट दिनुभयो आमाले सधै सुरक्षा,
हरेक कुरामा दिनुभयो बाबाले संस्कार र शिक्षा
थिए होला बाआमाका पनि कति रहर इच्छा
दबाएर आफ्ना इच्छा दिनुभयो हामीलाई शिक्षा ।

कति सङ्घर्ष गर्नुभयो, कति चोट सहनुभयो,
सन्तान नजिक हुनासाथै सबै पीडा बिर्सनुभयो,
सहनशील बन्न आमाबाट, सङ्घर्ष गर्न बाबाबाट
यहाँहरूको जस्तो चोखो माया पाउँदिनँ म कसैबाट

त्यसैले ईश्वर साक्षात् रुपमा आफ्नै बाबाआमा मानौँ
जतिसुकै महान् बनौँ तर त्यो स्थान पुग्न कदापि सक्दैनौँ ।
हरपल गर्ने सुरक्षा आमाले सधै राखी आफ्नै छेउमा
सुन्दर भविष्य सोची बाबाले राख्नुहुन्छ आफ्नो ज्यानै दाउमा ।

केही गरे पनि सकिन्न होला बाआमाको यो ऋण तिर्न
यहाँहरुको सपना साकार पार्न म त कहिल्यै पछि हट्दिनँ ।
पर्खनुस् बाबा आमा कुर्नोस्, धैर्यपूर्वक केही वर्ष
आफ्नै असल कामले दिनेछु हजुरहरुलाई हर्षैहर्ष ।

Contact us

Dallu Awas
Kathmandu, Nepal
Sun - Fri
9:00 am to 5:00 pm
Follow us